सुदूरपश्चिम च्याम्पियन बनेपछि धनगढीमा उत्सव, हजारौँ समर्थक सडकमा उर्लिए
धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेपछि धनगढीमा खुसीयाली छाएको छ। टोलीको ऐतिहासिक जितसँगै धनगढीका सडकमा हजारौँ समर्थक भेला भएर उत्सव मनाएका छन्।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक एनपीएलको उपाधि जितेको हो।
सुदूरपश्चिमको ऐतिहासिक जितको साक्षी बन्न धनगढी उपमहानगरपालिका–२ स्थित जेन्जी मार्गमा ठूलो संख्यामा क्रिकेटप्रेमी भेला भएका थिए। धनगढी उपमहानगरपालिकाले डिजिटल बोर्डमार्फत फाइनल खेलको प्रत्यक्ष प्रसारणको व्यवस्था गरेपछि हजारौँ समर्थक एकै ठाउँमा जम्मा भएर खेल हेरेका थिए।
खेलका क्रममा विद्युत् आपूर्तिमा अवरोध भए पनि दर्शकलाई प्रत्यक्ष प्रसारण हेर्न कुनै बाधा नहोस् भन्ने उद्देश्यले जेनेरेटरको समेत व्यवस्था गरिएको थियो।
फाईनलमा सुदूरपश्चिमले उपाधि जित्नेबित्तिकै धनगढीमा खुसीयालीको माहोल थप उत्साहपूर्ण बनेको थियो। समर्थकहरूले च्याम्पियन टोलीको समर्थनमा नाराबाजी गर्दै झण्डा प्रदर्शन र विजय उत्सव मनाएका थिए। सडकमा देखिएको समर्थकहरूको विशाल उपस्थितिले धनगढीलाई क्रिकेटमय बनाएको थियो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गरेको थियो। सुदूरपश्चिमका जर्ज मुन्सेले ५४ बलमा अविजित १२५ रन बनाउँदै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए। विनोद भण्डारी ३० रनमा अविजित रहे।
लगातार तीन सिजन फाइनल पुगेको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो। यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको थियो।
यसपटकको जितसँगै सुदूरपश्चिमले वर्षौंदेखिको उपाधि सपना पूरा गरेको छ। मैदानमा खेलाडीको ऐतिहासिक प्रदर्शन र धनगढीमा समर्थकहरूको अभूतपूर्व उत्साहले सुदूरपश्चिमको क्रिकेट मोहलाई थप उजागर गरेको छ।
तपाईको प्रतिक्रिया